Header Ads

ad

फेसबुकमा कमेन्ट गरैकै भरमा नेपाली युवकलाई देश निकाला

काठमाडौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तराष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो ।
लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र (एसएफडी)ले पक्राउ गरिसकेको थियो । उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए ।
अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् । गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् । त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।
११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ । कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर एउटा सामान्य कामदारलाई डिपोर्ट नगर्न अनुरोध गरेको हो । ‘हामी नेपाली नगरिकको हितको लागि गर्नुपर्ने सबै पहल गरेका छौं,’ कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले भने, ‘दूतावासले आवश्यक समन्वय काम भइरहेको छ ।’

No comments